काठमाडौं। काठमाडौं उपत्यकाका सम्पदास्थल भ्रमण गर्ने पर्यटकका लागि सरकारले साझा यातायातका ५ वटा बस सञ्चालन गर्ने भएको छ। पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुने भएको हो।
अंग्रेजी नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदा स्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।
पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा भ्रमण गर्न थप शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ । पर्यटकको समयको बचत तथा सुविधा उपलब्ध गराउन करिब २८ किलोमिटरको दूरीमा यातायात सुरु गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त यातायात सञ्चालनका लागि सरोकार पक्षसँग छलफल गर्दै पर्यटकलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदा क्षेत्र तथा अन्य महत्त्वपूर्ण सम्पदास्थलको भ्रमणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।