दार्चुला। खलंगा र आसपासमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचनाको निर्माण तत्कालका लागि रोकिएको छ। दुवै देशबीच संयन्त्र बनाएर मात्रै काम अघि बढाउने सहमति भएसँगै काम रोकिएको हो।
सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित ‘संयन्त्र’ बनाएर मात्रै काम अघि बढाउने सहमति भएको छ ।
पिथौरागढका एडिएम सहितका अधिकारी र नेपाली अधिकारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका हुन् । प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर निर्माण अघि बढाउने सहमति भएको बताइएको छ।
आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले विरोध गरेका थिए । विरोधका क्रममा ढुंगा हानाहान हुँदा खलंगा बांगाबगर स्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका ४ बालक घाइते भए । स्थानीयले झोलुंगे पुलेको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । स्थानीय प्रशासनले पुलको गेट खुलाएको छ ।
विवाद भएको ठाउँमा संयन्त्र बनाउने दुई देशको बीचमा सहमति भएपनि विवाद नभएको ठाउँमा भारतीय पक्षले तटबन्ध निर्माण गरिरहेको छ ।