बागलुङ। निर्माण सम्पन्न भएको दुई महिना नपुग्दै विद्यालयका छानो भ्वाङ परेपछि निर्माण गर्ने संस्था र प्राविधिकविरुद्ध अख्तियारमा उजुरी परेको छ। बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविको छानो भ्वाङ परेको हो।
गत फागुनमा निर्माण पूरा गरी विद्यालयलाई हस्तान्तरण गरिएको भवनको छानो वैशाखमा नै भ्वाङ परी चुहिन थालेको थियो। छानामा भ्वाङ परेपछि भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा उजुरी दर्ता गरेको हो ।
भवन निर्माणमा अनियमितता गरेको, विद्यालयमा पढ्ने विद्यार्थीविरुद्ध ज्यादती गरिएको र सरकारी काममा भ्रष्टाचार भएको आरोपसहित उजुरी दर्ता भएको छ।
उजुरीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको भवनमा यूपीभीसी छानामा प्वालैप्वाल परेको उल्लेख छ । यो छाना छाउने क्रममा आयोजनाको शिक्षा शाखाले नजिक र कम मूल्यमा काम गर्ने कम्पनी हुँदाहुँदै बढी शुल्क तिरेर कम्पनी ल्याएको र गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप छ ।
उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाइ र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्क्सलाई आरोपित बनाइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले समेत पटकपटक ताकेता गर्दा कम्पनीका प्रतिनिधि सम्पर्कमा नआएकोले सो पत्र समेत राखेर उजुरी गरिएको बताइएको छ ।