सुर्खेत । कर्णाली प्रदेशकै ठूलो भनिएको वीरेन्द्रनगरमा निर्माणाधीन शीतभण्डारको काम तीन वर्षदेखि अलपत्र छोडिएको छ । वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रमा शीतभण्डारको जग मात्रै हालेर छोडिएको हो ।
एक वर्षभित्र निर्माण कार्य सक्ने गरी चार वटा निजी कम्पनी मिलेर निर्माण थालिएको शीतभण्डार निर्माणको कामले गति लिन नसकेको हो । शीतभण्डारमा सरकारको ९४ लाख रुपैयाँ खर्च भइसकेको छ । निर्माण कम्पनीबीच लगानी रकमको विषयमा खटपट भएपछि काम अलपत्र छाडिएको छ ।
१० रोपनी क्षेत्रफलमा फैलिएको ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डारको लागत १५ करोड रुपैयाँ अनुमान गरिएको छ । कृषि विकास निर्देशनालयको लगानीमा निर्माण थालिएको परियोजनामा अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर निर्माण कार्यले भने गति लिन सकेको छैन ।
निर्माण शुरु गरेर अलपत्र अवस्थामा छोडिएको शीतभण्डाको अवस्था देखेर कृषक चिन्तामा पर्छन् । शीतभण्डा नहुँदा सस्तो मूल्यमा तत्काल आफ्नो उत्पादन बेचिसक्नु पर्ने बाध्यता यहाँका कृषकलाई छ । अहिले कर्णाली प्रदेशमा उत्पादित वस्तु भण्डारण गर्न नेपालगन्ज, अत्तरिया र भैरहवासम्म लैजानुपर्ने बाध्यता छ ।