काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाको स्थलगत निरीक्षण गरेका छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार मन्त्री चौधरीले स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले यहाँका जनतामाथि अन्याय हुन नदिने बताए। उनले बन्चरे डाँडाका स्थानीयसँग कुराकानी गर्दै अधिकांश जायज माग पूरा हुने आश्वासन दिए। मन्त्री चौधरीले भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पुरा हुने चरणमा पनि छन् ।’
सहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।
उनले भने, ‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धार लगायतका निर्माण कार्य थिए । हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौँ । सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ । त्यसैगरी दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरि शतप्रतिशत काम सम्पन्न भइसकेको छ।’