काठमाडौं। शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले हिलो बुधबारदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ ।
निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म अधिकतम ५ हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ गते देखि ९ सय ९० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ ।