काठमाडौं । पूर्ण क्षमतामा विद्युत उत्पादन नहुँदा कुलेखानी जलाशय (इन्द्रसरोवर) बाट पानी ‘ओभरफ्लो’ भइरहेको छ । इन्द्रसरोवरबाट ११ दिनदेखि पानी ‘ओभरफ्लो’ भएर खेर गइरहेको हो ।
नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहे पनि कुलेखानी प्रथम जलविद्युत् आयोजना हाल ‘पिकअप टाइम’ मा मात्रै सञ्चालनमा छ । जसका कारण जलाशय भरिएर ओभरफ्लो भएको छ ।
२०७२ वैशाख १२ मा भूकम्प जानुअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटरसम्म पानी संकलन गर्न बाँधमा बालुवाको बोरा राख्ने गरिन्थ्यो । भूकम्पले बाँध चर्किएपछि त्यसयता यसरी बोरा राखेर पानी संकलन गर्न छोडिएको छ । २०७२ पछि कुलेखानीको पानी ओभरफ्लो भएको यो पहिलो पटक भएको बताइएको छ ।