म्याग्दी। घार खोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको हो।
आयोजनाबाट आगामी वैशाख देखि व्यावसायिक उत्पादन थाल्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।
१५ महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाको सुरुङ भित्र ढलानको काम सकेर पाइप राख्ने काम थालिएको छ । आयोजनाले पोखरेबगरमा निर्माण गर्न लागेको विद्युतगृहको संरचना निर्माण सकेर अन्तिम फिनिसिङको काम भइरहेको छ ।
फागुन मसान्तसम्म इलेक्ट्रोमेकानिकल जडान गर्ने लगायतका सम्पूर्ण काम सकेर चैत १५ पछि परीक्षण उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।
पोखरेबगरदेखि २२० केभिए क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु भएको थियो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।