चितवन। पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म सडक विस्तारका लागि नारायणगढ पुल्चोक क्षेत्रका घर भत्काउन सुरू गरिएको छ। डिभिजन सडक कार्यालयले आज बिहानदेखि डोजर लगाएर नारायणगढ पुल्चोक क्षेत्रका घर भत्काउन सुरू गरेको हो ।
सडक सीमा मिचेर बनाएको घर टहरा हटाउन महिना दिनअघि नै सूचना दिइएको थियो । कसैले नभत्काएपछि सडक कार्यालय आफैंले डोजर लगाउन थालेको भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिए।
पुल्चोकदेखि लायन्सचोकसम्ममा ५८ घर सडक सीमाभित्र छन्। यहाँ २० सेन्टिमिटरदेखि एक मिटरसम्मको संरचना भत्काउनु पर्ने रहेकोमा त्यति पनि नहटाएपछि कार्यालयले महिना दिनअघि घर घरमा सूचना टाँसेको थियो । सूचना टाँस गर्दा समेत संरचना नभत्काएपछि सडक डिभिजन कार्यालय आफैंले भत्काउन सुरु गरेको हो। पुल्चोक गोन्द्राङ सडक ६ लेनको फराकिलो बनाउन दुई वर्षअघि काम सुरू भएको थियो ।