काठमाडौं। मोलुङ्ग हाइड्रोपावरले पुस १९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशत १० प्रतिशत अर्थात् ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरूका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।