गुल्मी। निर्माणाधीन गुल्मी अस्पतालको नयाँ भवनको निर्माण कार्य ३७ प्रतिशत सकिएको छ। ५० बेड क्षमताको अस्पतालको आधुनिक सुविधासम्पन्न भवन निर्माणको लागि २०७८ असार १८ गते सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो।
उक्त भवन निर्माणको कार्य २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्नुपर्ने छ। अस्पताल निर्माणको कार्य स्वच्छन्द–बानियाँ जेभी हेटौंडा मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँमा निर्माण कार्य गरिरहेको छ।
पर्याप्त भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न पनि समस्या हुने गुल्मी अस्पतालका नमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.उत्तम पच्याले बताउनुभयो। निर्माणाधीन भवन सम्पन्न भए सेवा प्रवाहका लागि पनि निकै सहज हुने डा. पच्याले बताए।
नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले पछिल्लो समय भवन निर्माणको गति अझ तीव्र बनाउनुपर्ने देखिएको बताए। “अहिलेकै गतिमा काम गर्दा भने तोकिएको समयमै सम्पन्न हुन नसक्ने अवस्था छ”, उनले भने, “तोकिएको समयमै सम्पन्न नहुने जस्तो देखिनु सबैको चिन्ताको विषय बन्न सक्छ।” गुणस्तर कायम गरी समयमै काम सपन्न गर्नेतर्फ निर्माण कम्पनी लाग्नुपर्ने संयोजक पाण्डेले बताए।