ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवास्थित साँवा माध्यमिक विद्यालयको पक्की भवन निर्माण हुनेभएको छ । कुल ९० लाख ६५ हजार ४०४ रुपियाँको लागतमा निर्माण हुन लागेको हो ।
एक अन्तर्राष्ट्रिय संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को आर्थिक सहयोगमा आठ कोठे पक्की भवन निर्माण हुने भएको हो । सो विद्यालयमा निर्माण हुने पक्की भवनको सोमबार मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले शिलान्यास गरेका छन्। गाउँपालिका अध्यक्ष कार्कीद्वारा पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयले जनाएको छ।
विद्यालयको पक्की भवन कुल ९० लाख ६५ हजार ४०४ रुपियाँको लागतमा निर्माण हुन लागेको हो । कुल लागत रकमको ६२ प्रतिशत अर्थात् ५६ लाख ३२ हजार २७४ रुपियाँ एचपीएफको सहयोग र ३८ प्रतिशत अर्थात् ३४ लाख ३३ हजार १३० रुपियाँ विद्यालयले व्यवस्थापन गर्ने भएको छ ।
विद्यालयले व्यवस्थापन गर्नुपर्ने रकम भने गाउँपालिकाले उपलब्ध गराउने भएको पालिकाले जनाएको छ। एक रोपनी क्षेत्रफल बराबरको जग्गामा उक्त भवन निर्माण हुन लागेको हो । विद्यालयका अनुसार पक्की भवन आउँदो चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ ।