काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अब बंगलादेशमा पनि विद्युत बिक्रि गर्ने बताएकी छन् । मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताएकी हुन् ।
उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।
मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने बताइन्।
मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन्। उनले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताइन् ।