तनहुँ । दमौलीमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । दश करोडको लागतमा गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा अस्पताल भवन निर्माण शुरु भएको हो।
गुणस्तरीय पशु चिकित्सक सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण थालिएको केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए। विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवाहरु प्रदान गरिने उनेको भनाइ छ ।
चालु आर्थिक वर्षमा भवन निर्माणका लागि करिब रु पाँच करोड बजेट विनियोजन भएको छ । भवनको लागत रु दश करोड रहेपनि यस वर्ष रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को काम हुनेछ । त्यसका लागि चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार १८ महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ ।