तनहुँ । बन्दीपुर गाउँपालिका–१ निवासी स्व.शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । २०५५ सालमा सहादत प्राप्त शहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो ।
भवनको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । स्थानीय कमलनारायण खड्गीले दान गरेको तीन आना जग्गामा निर्माण गरिएको भवनको लागत दश लाख लागेको बताइएको छ ।
शोभाकान्त पोखरेल विसं २०५५ साल जेठ १४ गते प्रहरीबाट मारिएका थिए । प्रहरीले सञ्चालन गरेको किलो शेरा–२ अभियानका क्रममा पोखरेलले बन्दीपुरको धरमपानीस्थित सेती नदी किनारमा सहादत प्राप्त गरेका थिए ।
भवनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले शहिदको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिए। शहिदले देखेका सपना पूरा भए मात्रै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।