खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि देउसी खेल्न शुरु गरिएको छ । स्थानीय च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि आइतबारदेखि टोल–टोलमा देउसी खेल्न शुरु गरिएको हो ।
नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियानअन्तर्गत स्थापना गरिएको महिला सहकारीको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि देउसी खेल्न शुरु गरिएको च्यास्मीटार महिला कृषि सहकारी संस्थाकी अध्यक्ष अमृता राईले जानकारी दिइन् ।
आइतबार दाल्फुबाट शुरु भएको देउसी अभियान बाङमा, हुन्डाखा, सार्पा, पिपलटार, पिपचाही, साबिकको च्यास्मीटार–९, ८ र ५ मा पुगेर २३ कात्तिकमा समापन गर्ने समूहले जनाएको छ ।
वडा कार्यालयमार्फत प्राप्त भएको तीन लाखबाट महिला कृषि सहकारी संस्थाको तीन कोठा भएको एक तले भवन निर्माणको काम शुरु गरिएको थियो ।
भवन निर्माणका लागि नगरपालिकाले ८ लाख उपलब्ध गराउने समूहकी अध्यक्ष राईले बताइन् । निर्माणाधीन भवनको काम पूरा गर्नका लागि आर्थिक अभाव भएकाले देउसी खेलेर रकम जुटाउन अघि बढेको उनीहरुको भनाइ छ ।