बैतडी। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ। उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो।
श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीका अनुसार सत्र कोठा, दुई हल, चमेनागृह र घेरापर्खालसहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको छ। उच्च शिक्षा हासिलका लागि आउने विद्यार्थीलाई छात्रावास बनिसकेपछि टाढाबाट बस्नको लागि सहज भएको क्याम्पस प्रमुख कार्कीले बताए। उक्त छात्रावासमा छात्रा र छात्र दुबै बस्न मिल्ने व्यवस्था रहेको छ। उक्त सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो।
आफ्नो पहलमा छात्रावास निर्माण गर्न सफल भएको बताउँदै प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधारमा जोड दिनुपर्ने बताए। ग्रामीण क्षेत्रमा बनेको छात्रावासले टाढाबाट यहाँ उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई सहज हुनेछ। उनले भने “दुर्गममा स्थानमा सञ्चालनमा रहेको यस क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको छ।” दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए।