फाइल तस्बिर
काठमाडौं। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न १० स्थानमा पार्क निर्माण गरिने भएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले बहुउद्देश्यीय १० वटा पार्क निर्माण गर्ने भएको हो।
काठमाडौँको शङ्खरापुर नगरपालिकाको शालिनदी, कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी र नवतनधाम र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा पार्क निर्माण हुने प्राधिकरणले जनाएको छ।
त्यसैगरी ललितपुर महानगरपालिकाको वडा नं १३ स्थित मच्छिन्द्र उद्यान, वडा नं २१ को पञ्चोद्यान, वडा नं २७ को बालकुमारी उद्यानमा बनाइने छ। महानगरपालिका वडा नं २५ को सैंबु भैँसेपाटीको सार्वजनिक जग्गालाई संरक्षण गर्दै पार्क बनाउन लागिएको छ।
प्राधिकरणले महालक्ष्मी नगरपालिका वडा नं ८ स्थिति लुभु माध्यमिक विद्यालय पछाडिको ढुङ्गेटोलमा पनि बहुउद्देश्यीय पार्क निर्माणका लागि योजना बनाएको छ।
उद्यान निर्माण कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकाका र स्थानीय निकायको सहकार्यमा हरियाली प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ। पार्क बनाउन करिब १० करोड रुपियाँ विनियोजन गरिएको समेत प्राधिकरणले जनाएको छ।