काठमाडौं। निर्माण सुरु गरिएको १५ वर्षपछि बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ।
निर्माण समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मीका अनुसार उक्त धर्मशालाका लागि ५९ लाख रुपैयाँ खर्च भएको छ। गाउँपालिकाले २० लाख, प्रदेश सरकारले ३० लाख, साविकको जिल्ला विकास समितिले ६ लाख ५० हजार रुपैयाँका साथै विभिन्न व्यक्ति तथा संघसंस्थाको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएकोे हो।
७४ फिट लम्बाइ र ५६ फिट चौडाइको धर्मशालामा बैठक कक्ष र सातवटा कोठा छन्। विवाह, पाटी, व्रतबन्धलगायत सामाजिक कार्यमा यस धर्मशालालाई प्रयोगमा ल्याइने भएको छ। धर्मशालाको शौचालय भने तयार भइसकेको छैन। माथिको संरचना तयार गर्न रकम अभाव छ। धर्मशाला पछाडिको खाली जमिनमा भान्छाघर बनाउने योजना रहेको कुर्मीले बताए।