काठमाडौं। ताप्लेजुङ जिल्लामा आगामी दुई वर्षभित्र घर–घरमा विद्युत पुग्ने भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत दुई वर्षभित्र जिल्लाभर घर–घरमा विद्युत पुग्ने भएको हो।
जिल्लाका प्रत्येक वडा, टोल हुँदै घर–घरसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याउनेगरी नेपाल विद्युत प्राधिकरणले योजना अघि बढाएको हो। एक नगर र आठवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाभित्रका दूरदराज तथा दुर्गम क्षेत्रसम्म नै दुई वर्षभित्र विद्युतीकरणको कार्य भइसक्ने छ।
नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रको समन्वयमा सदरमुकाम फुङ्लिङमा भएको सरोकारवालाको बैठकले आगामी दुई वर्षभित्र जिल्लाभर विद्युतको पहुँच पु¥याइसक्ने निर्णय गरेको हो।
पाँचथर–इलाम–झापा ग्रामीण विद्युतीकरण तथा सव–स्टेसन निर्माण आयोजना, स्थानीय तहका पदाधिकारी र ठेकेदार कम्पनी वाइबा इन्फ्राटेकका प्रतिनिधिसमेत सहभागी बैठकले निर्धारित समयभित्र विद्युतीकरण गरिसक्ने निर्णय गरेको हो।
विद्युतको पहुँच पुग्न बाँकी रहेको क्षेत्रमा दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने गरी निर्णय भएको मैवाखोला गाउँपालिकाकाले जनाएको छ। विद्युतीकरणका लागि ट्रान्समिटर राख्ने ठाउँहरु छनोट गरिएको छ।