सिरहा। लहान नगरपालिकाले नगरभित्रका दलित विपन्न परिवारका लागि घर बनाइदिने भएको छ। वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर नगरपालिकाले हस्तान्तरण गर्ने भएको हो ।
यस सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ । घर बनाउन नगरपालिकाले नगरसभाबाट १ करोड विनियोजन गरेको छ।
सम्झौताअनुसार हिल्टी फाउण्डेशनको लगानी हयाबिटयाटमार्फत भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा प्रतिघर बराबर दुई लाख संस्थाले दिने भएको छ । काम गर्दा अझै अपुग भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ ।
प्रत्येक परिवारलाई बरण्डासहितको दुई कोठाको घर र शौचालय निर्माण गरिने छ। घरको ढाँचा नगरपालिका, भवानी एकीकृत र सो संस्थाका प्राविधिकले बनाउने, घर बनाउने र सरसफाइ राख्न स्थानीयवासीलाई तालिमसमेत दिइने छ ।