रोल्पा। करिब ३३ करोडको लागतमा निर्माण गर्न थालिएको जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन्। आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ। निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप रहेको छ। अस्पताल विकास समितिका अध्यक्षले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताएका छन्।
स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको साथै आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ। तर भवन अभावमा उनीहरु आएका छैनन्। समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा परेका छन्।जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि एमडीको तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि धकेलिएको जनाइएको छ।
संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मीको भनाइ रहेको छ। त्यस्तै सामान्य स्वास्थ्य उपचार गर्नसमेत जिल्ला बहिर जानुपर्दा पैसा र समयको नोक्सानी बेहोर्नुपरेको र भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने उनको भनाई रहेको छ। निर्माण व्यवसायी दलीय आवद्ध भएर बस्ने भएकाले यस्ता लापर्बाही बढ्ने गरेका जिल्लावासीको गुनासो रहेको छ।