सिन्धुलीमाढी। सिन्धुलीका स्थानीय तहले धमाधम १५ शय्याको अस्पताल निर्माण गर्दै गएका छन्। स्थानीय तहले नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गर्दै गएका हुन्।
हरिहरपुरगढी गाउँपालिकामा शिलान्यास गरी अस्पताल बनाउन सुरु गरिएको छ। वडा नं. २ को रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरी निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ। बागमती प्रदेश सरकारको २१ करोड ८१ लाख रुपियाँको लागतमा २०८१ साल असारसम्म सम्पन्न गर्ने गरी अस्पताल निर्माण सुरु गरिएको हो।
आठवटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकामा चारवटा मात्रै स्वास्थ्य चौकी छन्। विकट गाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरिएको छ। राम्रो उपचार गर्न नागरिकलाई अस्पताल खोज्दै हेटौँडा जानुपर्ने अवस्था छ। अतः यस पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको हो।
यस्तै तीनपाटन गाउँपालिकाको चकमके बजारमा सङ्घीय सरकारको १७ करोड ९१ लाख रुपियाँको लागतमा एक वर्षदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ। गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी भवन बनाउन सुरु गरिएको र अब दुई वर्षभित्र निर्माण गरिसक्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।