काठमाडौं। हिमाली जिल्ला मनाङमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ। एक सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो।
दुई वर्ष अघिदेखि निर्माण शुरुआत गर्नुपर्ने योजना आइतबारदेखि मात्रै निर्माणको काम सुरु गरिएको बताइएको छ। सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सुरुआत गरिएको हो। प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङको उपस्थितिमा आयोजना निर्माणको सुरुवात गरिएको हो ।गुरुङले हिमाली जिल्ला मनाङका हिमालबाट हिउँ पग्ली आएको पानीको मर्स्याङ्दी नदीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले आयोजना निर्माणको काम सुरु गरिएको बताए।
पर्यटकीय जिल्लाका रुपमा विकास हुँदै आएको मनाङमा यस आयोजनाको काम सम्पन्न भएपश्चात् भौतिक तथा आर्थिक विकासमा टेवा त पुर्याउनेछ, यति मात्र नभई यस आयोजनाले देशकै आर्थिक विकासमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको उनको भनाइ छ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच २०७९ पुस ३ गते सम्झौता गरेको थियो । यस आयोजनाबाट एक सय ६५ मेगावट विद्युत् उत्पादन हुनेछ । चार वर्षमा आयोजना पूरा हुने जनाइएको छ ।
आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण ल्याउने तयारी थालेको बुटवल पावर कम्पनीले जनाएको छ।
आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ।