तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नियमविपरीत भवनको शिलान्यास गरेका छन् । मुख्यमन्त्री पोखरेलले आफ्ना बुबाको नाममा बन्ने गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार केन्द्र तथा अनुसन्धान केन्द्रको नियमविपरीत शिलान्यास गरेका हुन् ।
उनले टेन्डर आह्वानसमेत नभएको भवन मंगलबार शिलान्यास गरेको बताइएको छ । संघीय सरकार मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गामा आँखा उपचार केन्द्र तथा अनुसन्धन केन्द्रको भवन निर्माणको शिलान्यास गरेका हुन् । दमौली अस्पताल मातहत रहने अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको जग्गा भने साविक जिल्ला पशु सेवा कार्यालयको नाममा छ ।
दमौली अस्पतालमा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रको नाम मात्र परिवर्तन गरेर तीन महिनाअघि मुख्यमन्त्री पोख्रेलका बुवा गोवर्द्धनको नाममा आँखा अनुसन्धान केन्द्रको बोर्ड झुन्ड्याइएको थियो । यस केन्द्रमा हालसम्म प्रविधि तथा उपकरण भने भित्र्याइएको छैन ।