काठमाडौं। गुल्मीको एक स्थानीय तहमा १५ शय्याको अस्पताल भवन निर्माण तीव्र रूपमा अगाडि बढेको छ । गुल्मी दरबार गाउँपालिका–३, धुरेलडाँडामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण ८५ प्रतिशतभन्दा बढी सकिएको हो।
सङ्घीय सरकारले एकै पटक देशका ३९६ स्थानीय तहमा ५, १० र १५ शय्यासम्मका अस्पताल बनाउने नीति लिएको थियो । सोहीअनुसार यस जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो ।
उक्त ठाउँमा निर्माणाधीन अस्पताल भवनको अहिले ८५ प्रतिशतभन्दा बढी निर्माण सकिएको बताइएको छ। सुखी र समृद्ध गाउँपालिका निर्माण गर्ने अभियानअन्तर्गत पालिकाले सम्पूर्ण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुरूप १५ शय्याको अस्पताल भवन निर्माण गरेको हो ।
२०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरिएकोमा अगावै निर्माण सम्पन्न हुने भएको छ । २०७७ असार १५ गते गुल्मी दरबार गाउँपालिका–३ मा १५ शय्या अस्पतालको शिलान्यास गरिएको थियो ।
उक्त भवन निर्माण न्यु लिजा कन्स्ट्रक्सन कम्पनीसँग २०७८ वैशाख २५ गते १२ करोड ९४ लाख ५६ हजार ९१३ मा सम्झौता गरिएको थियो ।
अस्पताल भवनको साढे तीन तला ढलानसहित प्लास्टर सकिएको छ । अहिले लिफ्ट र फिनिसिङ भइरहेको छ । वित्तीय प्रगति पनि ६० प्रतिशतभन्दा धेरै भएको गाउँपालिकाले जनाएको छ।