झापा । दमक–३ मा निर्माणाधीन भ्यु टावरको काम हालसम्म ५० प्रतिशत मात्र पूरा भएको छ । निर्माण गरिसक्नु पर्ने सम्झौता मिति सकिन दुई महिना मात्र बाँकी हुँदा काम ५० प्रतिशत मात्र पूरा भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्बभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यसकारण पनि दमकको भ्यु टावर राष्ट्रिय चर्चाको विषय बनेको थियो । तर चासो जस्को जति भएपनि काम भने सोचे जस्तो हुन सकेको छैन ।
कोरोनाका कारण लगाइएको लकडाउनमा पनि काम नरोकिएको आयोजनाको काम सम्झौता गरिएको मितिमा नसकिने निश्चित भएको छ । एक सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणको म्याद २७ पुस २०७८ सम्म मात्रै छ । तर, काम भने ५० प्रतिशत मात्र सकिएको सघन सहरी तथा भवन निर्माण कार्यालय भद्रपुरले जनाएको छ ।
भ्यु टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साईराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।