काठमाडौं। काठमाडौं महानगरपालिकामा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भएको २ वर्षमा पनि काम हुन सकेको छैन।
महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि २०७७ मङ्सिर २५ गते महानगर, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएपनि हालसम्म काम हुन नसकेको हो।
सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको महानगरको भनाइ छ। कोरोनाको त्रास कम भएपछि भने महानगरले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसको हो।
सहमतिअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागि कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीको ६० प्रतिशत कामपाको र ४० प्रतिशत प्राधिकरणको प्रतिशत रहने उल्लेख छ।
कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ। सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोक, पुतली सडक, शीतल निवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब १२ करोड रुपैयाँको लागतमा एक हजार सात सय थान आधुनिक सडक बत्ती जडानका लागि कार्यअघि बढाउने भनिएको छ।