हुम्ला। चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि निर्माण सामग्री आयात गरिएको हो।
चीनको हिल्सा नाकाबाट तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
आयातित सामग्रीमध्ये १० हजार ६ सय बोरा सिमेन्ट, चार ट्रक छड रहेको जनाइएको छ । कोरोना महामारीपछि चीनले पुस १३ देखि एकतर्फी नाका खुलाएर १८ गाडी खाद्यान्न र लत्ताकपडा हिल्सा पठाएको थियो । चीनबाट अब इन्धन आयातका लागि पनि छलफल भइरहेको बताइएको छ।
सडक यातायात नजोडिएकाले हवाई मार्गबाट माथिल्लो हुम्ला भित्रिने सामग्रीको मूल्य चीनबाट आयात भएकोभन्दा महंगो पर्छ । यी सामग्री हिल्साबाट आयात भएपछि विकास निर्माणका काम गर्न समेत सहज हुनेछ।