काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्निर्माणका क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणका बाँकी कामलाई पूर्णता दिँदै भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिङ्गो देशलाई लयबद्व बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइसाथ कार्यान्वयन गर्ने बताए । उनले पूर्वसचेतनाका क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट सम्भव भएसम्म योगदानका साथ सरकारसँग हातेमालो गर्न आग्रह समेत गरेका छन्।
उनले आफ्नो दोस्रो कार्यकालमा पुनर्निर्माणका क्षेत्रमा भएका कामहरू सार्वजनिक गर्ने, त्यसको पारदर्शिता कायम गर्ने, निजी आवास पुनर्निर्माणका लागि दिइँदै आएको अनुदानमा एक लाख थप गर्ने काम भएको स्मरण समेत गराए ।