सिमकोट। ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो।
नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो भवन नभएपछि ताँजाकोट गाउँपालिका भाडाको भवनमा बस्दै आएको छ।
निर्माण कम्पनी पक्षले समयमै काम सम्पन्न गर्ने लक्ष्य र गाउँपालिकाको बारम्बारको अनुगमन कार्यले भवन निर्माण कार्यले तीव्रता पाएको हो।
०७८ सालको असार २० गते भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता भए पनि बर्खा लागेका कारण निर्माण सामग्री व्यवस्था गर्न नसकिएपछि निर्माण कम्पनीले सोही सालको मंसिरबाट निर्माण सुरु गरेको थियो।
दुुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनी पक्ष धुलिखेल निर्माण कम्पनीले गाउँपालिकासँग कुल लागत चार करोड २८ लाख बजेटमा सम्झौता गरेको हो।
भवन निर्माणका लागि लाग्ने लागतमध्ये ५० प्रतिशत गाउँपालिका र त्यति नै बजेट प्रदेश सरकारले लागत व्यहोर्ने गरी सम्झौता भए पनि प्रदेश सरकारबाट उपलब्ध हुनुुपर्ने बजेट हालसम्म प्राप्त नभएपछि गाउँपालिकाले संघीय सरकारअन्तर्गतको कार्यक्रम डोलिडारसँग माग गरिएको र डोलिडार पनि यस आर्थिक वर्षमा बजेट दिन तयार भएको छ।
सम्झौताभन्दा चार महिनाअघि भवन निर्माण सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ। भवनको अधिकांश निर्माण सम्पन्न भएको र अब अन्तिम चरणका काम भइरहेको छ। साढे दुुई तले उक्त भवन निर्माण निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर बोनस खाने तयारीमा निर्माण कम्पनी रहेको छ।