धनकुटा। साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको हो।
पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो। गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको गाउँपालिकाले बताएको छ। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका छन्।
भूकम्प प्रतिरोधात्मक कोसेली घर निर्माण हुने बताइएको छ। दुई तल्लाको हुने भवनमा माथिल्लो तलामा पालिकाभरि उत्पादन हस्तकलाका सामग्री तथा कृषिजन्य वस्तुलाई मिनिमाटको बिक्री राखिनेछ।
आगामी तिन महिनाभित्र निर्माण सम्पन्न गरी चालु आर्थिक वर्षभित्र कोसेली घर सञ्चालनमा आउने गाउँपालिले जनाएको छ।