काठमाण्डौं। शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन भएको छ। हिजो बसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डाक्टर विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।
सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्य अवधि तोकिएको छ। जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणको काम अघि बढ्ने सचिव थपलियाले बताउनुभयो।
मुख्यगरी काठमाण्डौ, चितवन लगायतका सहरी क्षेत्रमा जग्गा खोज्ने कामलाई प्राथमिकता दिइनेछ। शिक्षक अस्पताल बनेपछि देशभरका लगभग ३ लाख बढी शिक्षकहरु लाभान्वित हुनेछन्। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकाले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गर्नुभएको थियो।
यसैगरी हिजोको मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरेको छ। कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालीका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको जग्गा व्यवस्थापन गरिएको हो।