काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सहरी विकास मन्त्री विक्रम पाण्डेसँग भेटवार्ता गरेको छ। बिहीबार बिहान सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा पुगेर निर्माण व्यवसायीहरुले मन्त्री पाण्डेसँग भेट गरेका हुन्।
भेटमा निर्माण व्यवसायीहरुले मन्त्री पाण्डेलाई निर्माण उद्योगको पछिल्ला समस्याबारेमा अवगत गराएका छन्। सरकारले काम गर्ने समयमा नै अनुगमनको प्रकृयामा क्रसर उद्योगहरु बन्द गर्दा निर्माण सामाग्रीको अभाव हुनुका साथै मूल्य समेत बढेर दोब्बर भएकाले निर्माणको सिजनमै निर्माण उद्योग ठप्प हुन पुगेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मन्त्रीलाई जानकारी गराए।
महासंघ अध्यक्ष सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पाण्डेलाई शुभकामना दिँदै आफूहरुका समस्या चाँडो भन्दा चाँडो समाधान गरिदिन आग्रह गरेको छ।
निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै क्रसर उद्योग संचालनमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएकाले चाँडै निकास निस्कने मन्त्री पाण्डेको जवाफ आएको महासंघका एक प्रतिनिधिले बताए।
बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले भने अवैध तथा वैध रुपमा सञ्चालित क्रसरबारे अध्ययन गरेर क्रसर उद्योगहरू खोल्नेबारे निष्कर्षमा पुग्ने निर्णय गरेको छ।
याे पनि:
सरकारले देशभरका क्रसर उद्योगको अध्ययन गर्ने