भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको छ। नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।
नगरप्रमुख जीवन खत्रीले इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गरेको बताए ।
काँचो इँटा उत्पादन गर्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान रु १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रु पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
भक्तपुरमा सञ्चालन रहेका ६१ इँटाभट्टामध्ये ४१ चाँगुनारायणमा छन् ।