बाँके। बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माणको काम समय सकिएको ६ महिना बित्दासम्म पनि ५० प्रतिशत मात्र पूरा भएको छ। निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा यहाँ आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा पूरा हुन नसकेको हो।
जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा कुलो , तटबन्ध र स–साना कल्भर्ट गरी दुई वटा छुट्टाछुट्टै टेन्डर भई सम्झौता भएको छ । गत असार २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समायवधी रहेकोमा हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयले जनाएको छ।
मूल बाँध निर्माणका लागि २०७७ असार १४ गते एक करोड २२ लाख रुपियाँमा २०७९ असार २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । कुलो निर्माणका लागि पनि सोही मितिमा सम्पन्न गर्ने गरी सोही दिन एक करोड ४० लाख रुपियाँमा सम्झौता भएको थियो।
मूल बाँधको काम करिब ७९ प्रतिशत सम्पन्न भएको भए पनि कुलोको काम भने हाल सम्म २१ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
दुवै कामको जिम्मेवारी पाएको एचडिपी कन्स्ट्रक्सन एन्ड ट्रान्सपोटेशन प्रालिले पछिल्लो समय काम अघि बढाउन ढिलाइ गरेको छ।