उदयपुर। हंशअम्बर दाहाल (खत्री) परिवारले त्रियुगा नगरपालिका–१२ त्रियुगा नदी किरानामा रहेको त्रियुगा शान्ति धाममा एक करोड २० लाख बराबरको बौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण गरि हस्तान्तरण गरेको छ। दाहाल (खत्री) परिवारले हजुर बुबा स्व. हंशबहादुर दाहाल खत्री र बाबु अम्बरबहादुर दाहाल खत्रीको स्मृतिमा शान्ति धाम परिसरमा रहेको वौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण तथा सालिक अनावरण गरी विधिवत रुपमा हस्तान्तरण गरेको हो।
हजुरबुबा हंशबहादुर दाहाल खत्रीको १७ वैशाख ०७२ मा र बुबा अम्बरबहादुर दाहाल खत्रीको १४ कात्तिक ०७७ मा निधन भएको थियो। नवनिर्मित भवनको जगतगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरी शान्ति धाम समितिलाई हस्तान्तरण गरेका हुन्।
उक्त भवन गुरुकुलममा अध्यायनरत बिद्यार्थीले प्रयोग गर्नेछन्। परिवारका कान्छा छोरा राकेश खत्रीका अनुसार उक्त स्मृतिको अवसरमा छोरा तथा नातिहरूले भवन हस्तान्तरण तथा सालिक अनावरण गरेको समेत गरेको छ। सात दिने पुराणसहित स्व. बुबा र हजुरबुवाको आत्माशान्तिका लागि भवन दान तथा पुराण लगाएको खत्रीले बताए। खत्रीका अनुसार दुई तले भवनमा १६ कोठा रहेको सुविधासम्पन्न विद्यालय भवन निर्माण गरी सोही भवन अगाडि बुबा र हजुरबुबाको शालिक निर्माण एवं अनावरण गरिएको छ। उक्त विद्यालय भवनको नाम त्रियुगा हंश वौद्धिक गुरुकुलम राखिएको छ।