तनहुँ। गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको हो।
व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ।
वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी हाल चिस्यान केन्द्र निर्माण गरेको व्यास नगरपालिकाले जनाएको छ।
केन्द्रको देवचुली कन्टक्सन कम्पनी प्रालिले २०७८ भदौ १३ गते सम्झौता गरी निर्माण थालेको थियो । गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीमा केन्द्र बनाइएको हो ।
यसअघि आलु, फलफूल, तरकारीलगायतका बस्तु कोल्डस्टोरमा राख्नुपर्ने भएकाले पोखरा र चितवन लैजाने गरिन्थ्यो । चिस्यान केन्द्र निर्माण सम्पन्न भएपनि थ्रीफेस लाइन जडान बाँकी रहेकाले जडान प्रक्रिया अघि बढाइएको छ।