सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्तावित वडा कार्यालय भवन निर्माणस्थलमा खनेको जग पुरेका छन् । वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै स्थानीयले भवनको जग खनिएको स्थान पुरेका हुन्।
स्थानीयले पटक पटक आफूहरुलाई पायक पुग्ने र केन्द्रबिन्दु पर्ने संसारीडाँडामा वडा कार्यालय निर्माण गर्न आग्रह गर्दै आएका थिए। आफूहरुको लिखित र मौखिक आग्रहलाई अटेर गरेर अपायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्न लागेपछि बाध्य भएर जग पुर्नु परेको उनीहरुको भनाइ छ।
भोर्लेडाँडामा वडा भवन बनाउन नहुने भन्दै वडावासीले बलेफी गाउँपालिका, जिल्ला समन्वय समिति, बागमती प्रदेश सरकारमा हस्ताक्षरसहित निवेदन समेत दिएका थिए । निवेदनमा उनीहरूले संसारीडाँडामा वडा भवन बन्नुपर्ने माग गरेका छन् । ९० लाख रुपियाँको लागतमा वडा कार्यालय भवन निर्माण गर्न बोलपत्र आह्वानसमेत भइसकेको छ । यद्यपि वडाध्यक्ष छविलाल न्यौपानेले वडा कार्यालय सबै वडावासीलाई उपयुक्त हुने स्थानमा बन्न लागेको दाबी गरिरहेका छन्।