बुटवल। बुटवलमा अक्सिजन सुविधासहितका दुई वटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१७ को मोतीपुर र वडा नम्बर १३ को बेलबासमा १६र१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण सुरु गरिएको हो।
वडा १७ को मोतीपुरमा शुक्रबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरेका छन् । प्रमुख पाण्डेयले मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताए । उनले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताए ।
पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र सुविधाका लागि मोतीपुर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको जानकारी गराए । उनले स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।
उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताए । स्वास्थ्य केन्द्रको भवन निर्माण आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने निर्माण पक्षले प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले जनाए ।