काठमाडौं। अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । नुल्यान्ड दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएकी हुन्।
उपविदेशमन्त्री नुल्यान्डले भ्रमणका क्रममा नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने नेपालमा रहेको अमेरिकी राजदूतावासले जानकारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग उनले राजनीतिक भेटवार्ता गर्नेछिन्।
अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् । भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ ।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।