काठमाडौं। संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालको विकास परियोजना अगाडि बढाउन अमेरिका प्रतिबद्ध रहेको बताएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँगको भेटमा आज उपविदेशमन्त्री नुल्यान्डले नेपालको विकासमा अमेरिकाले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका प्रतिबद्ध रहेको बताएकी हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र भिक्टोरियाबिच भेटवार्ता भएको थियो।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा संयुक्त राज्य अमेरिकाले पुराएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
त्यसपछि अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पदमा निर्वाचित भएकामा प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिन्।
नुल्यान्ड दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएकी हुन् । उनले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछिन्।
साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको समेत अवलोकन गर्ने कार्यतालिका रहेको छ।