सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका चनौटेमा अस्पताल निर्माणको म्याद सकिन लाग्दा निर्माण कम्पनी सम्पर्कबिहीन भएको छ। १० शय्याको अस्पताल निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिन एक हप्ता बाँकी रहँदा निर्माण व्यवसायी भवन निर्माण नगरी सम्पर्कविहीन भएका छन्।
अस्पताल निर्माणका लागि जुगल गाउँपालिका र महादेव खिम्ती अञ्जना ताक्सार जेभी काठमाडौँबीच २०७८ साउन ३१ गते ८ करोड १० लाख ८५ हजार ५२२ रुपियाँ ८० पैसामा ठेक्का सम्झौता भएको थियो।
२०७९ फागुन २ भित्र अस्पताल भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा ठेकेदार कम्पनीले अहिलेसम्म अस्पताल भवनको निर्माण सुरु गरेको छैन। सम्झौतापछि अस्पतालको जग खन्न सुरु गरिए पनि अहिले फलामे रड, सिमेन्टलगायतका सामग्री यत्रतत्र छरिएका छन्। अस्पताल निर्माण कम्पनी काम नगरी सम्पर्कविहीन भएपछि जुगल गाउँपालिकाकै गौरवको आयोजना अलपत्र बनेको छ।
पालिकाका अध्यक्ष रेशम स्याङ्बोले निर्माण कम्पनीलाई पटक–पटक भेटेर र फोन गरेर अस्पताल निर्माण गर्न दबाब दिँदासमेत अटेर गरेको बताए। काम नगर्ने निर्माण कम्पनीसँग सम्झौता तोड्न नागरिकबाट दबाब आइरहेको समेत उनले बताए।
अस्पताल निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुज्रिन लाग्दासमेत निर्माण कम्पनीले निर्माण अघि नबढाएकाले सङ्घीय सरकार र स्थानीयसँग सुझाव लिइरहेको स्याङ्बोले बताए।