काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्रको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका हुन् ।
उनले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गरेका छन्। सन्देशमा प्रधानमन्त्री प्रचण्डले सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गरेका छन्।
दिवस अवसरमा उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरे।