काठमाडौं। स्थानीय पूर्वाधार विभागले स्थानीय तहमा आवश्यक झोलुङ्गे पुलको विवरण माग गरेको छ। झोलुङ्गे पुल आवश्यक पर्ने स्थानको आवश्यक विवरण एक महिनाभित्र उपलब्ध गराउन विभागले देशभरका सबै स्थानीय तहलाई आग्रह गरेको हो।
सरकारको १५औँ योजनाले आधारभूत सेवाको पहुँच आमनागरिकसमक्ष पुर्याउने उद्देश्यले आधा घण्टाको फेरोमा झोलुङ्गे पुल बनाउने लक्ष्य लिएकाले सबै पालिकाभित्र आवश्यक झोलुङ्गे पुलको विवरण उपलब्ध गराउन ७५३ वटै पालिकालाई आग्रह गरेको हो ।
सरकारले आगामी तीन वर्षभित्र आवश्यक सबै स्थानमा झोलुङ्गे पुल निर्माण गरी आधारभूत पहुँचमा सुनिश्चितता गर्ने लक्ष्य लिएको छ । विभागले झोलुङ्गे पुलको माग गर्दा स्थानीय तहको कार्यपालिकाको निर्णय र सम्बन्धित स्थानीय तहको अनुरोधपत्रसमेत उपलब्ध गराउनुपर्ने बताएको छ ।