काभ्रेपलाञ्चोक। काठमाडौँ विश्वविद्यालय परिसरमा सुरुङ मार्ग निर्माणको काम सुरु गरिएको छ। करिब पाँच करोड लगातमा सुरुङमार्ग लगायतका संरचना निर्माण गर्न सुरु गरिएको हो।
विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन, अनुसन्धान प्रयोजन तथा सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले २४० मिटर लामो सुरुङ मार्ग निर्माण गर्न सुरु गरिएको छ।
विश्वविद्यालय परिसरमा निर्माण भइरहेको सुरुङ मार्गलाई सङ्ग्रहालयका रूपमा स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका सिभिल इन्जिनियरिङ विभाग प्रमुख डा. श्यामसुन्दर खड्काले जानकारी दिए।
निर्माणाधीन सुरुङ मार्गको सय मिटरको दूरीमा २० मिटर लम्बाइ र छ मिटर चौडाइको एउटा सभा हल निर्माण गरिने बताइएको छ। सय मिटरको दूरीसम्म गाडी लैजान मिल्ने मार्ग र सय मिटरमा सभा हल तथा अर्को १२० मिटर दूरी भने मान्छे मात्रै जान मिल्ने सुरुङ निर्माण गर्ने गरिने छ।
सुरुङको प्रवेशद्वारतर्फ हालसम्म १० मिटर सुरुङ मार्ग निर्माण भएको र आउटलेट स्थानतर्फ फेब्रुअरी महिनासम्म १० मिटर सुरुङ निर्माण गरिसक्ने बताइएको छ।
विश्वविद्यालयले सन् २०१४ देखि नेपालमा नै पहिलो पटक स्नातक तहमा सुरुङ मार्गसम्बन्धी अध्यापन गराइरहेको छ।