काठमाडौं। भोजरपुरमा एउटा अर्ध–जलाशययुक्त जलविद्युत आयोजना थपिने भएको छ। एस के इनर्जी डेभलपमेन्ट प्रालिले ७.२५ मेगावाटको श्यामखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।
आयोजना भोजपुरको षडानन्द गाउँपालिका भएर बग्ने श्याम खोलाको पानी प्रयोग गरेर निर्माण हुने बताइएको छ।
विद्युत विकास विभागले सूचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न आग्रह गरेको छ।
आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन समेत तयार भइसकेको छ। दैनिक ३ घण्टाका दरले पिकिङ हुने गरी अर्धजलाशययुक्त प्रकारको आयोजना हो।
यसको डिजाइन बहाव ०.९८६ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ८५७.१५ मिटर रहनेछ। आयोजनाबाट बार्षिक सरदर ४२.४४८ गिगावाट घण्टा विद्युत ऊर्जा उत्पादन हुने आयोजनाले जनाएको छ।
श्याम खोलामा बाँध बाँधी बायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु सेट्लिङ बेसिन, कनेक्टिङ क्यानल, हेड पोण्ड, पिकिङ पोण्ड, हेडरेस पाइप, पेनस्टक पाइप हुँदै विद्युत गृहमा लगिनेछ। त्यसपछि टेलरेस क्यानलमार्फत श्याम खोलामा पठाइनेछ।