काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेलेका अनुसार लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी मंसिरसम्म पूरा हुने छ।
प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको हो। प्रदेशसभाको भवन लुम्बिनी प्रदेशको ऐतिहासिकता झल्किने गरी आधुनिक शैलीमा निर्माण भैरहेको छ। ५ करोड भन्दा माथीको लागतमा निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखी झ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरु समावेश गर्ने गरी काम भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए।
भवन निर्माणका लागि २४ वैशाख २०७७ मा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु भएको थियो। ठेक्का सम्झौता अनुसार २०७८ साउनभित्रै भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ। तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो। सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ।
प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको छ। वर्षे अधिवेशन सकिने र आगामी हिउँदै अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। हाल प्रदेशको अस्थायी मुकाम बुटवलमा भाडाको घरमा प्रदेशसभा सञ्चालन भैरहेको। प्रदेशसभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फिटमा तयार हुनेछन्। प्रदेशसभाको सभाहल भने ७ हजार स्क्वायर फुटमा तयार भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए।