काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधारको क्षेत्रमा फड्को नमारिकन मुलुकको समग्र विकासले फड्को मार्न नसक्ने बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको सबै भागमा समानुपातिक किसिमले विकास पुग्ने गरी काम गर्नुपर्ने बताएका छन्।
अबको पूर्वाधार विकास नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उनले राजधानी लगायतका केही सीमित ठाउँमा मात्र विकासकेन्द्रित गर्नेजस्ता अहिलेको विकास प्रणालीको सट्टा विपन्न वर्गलगायत सबैलाई विकासले लाभान्वित गर्न सक्ने विकासको नयाँ ढाँचा अवलम्बन गर्नु जरुरी भएको धारणा व्यक्त गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले पत्रकारलाई समेत सम्बन्धित क्षेत्रको विषयमा बुझेर कलम चलाउँदा जनताले सही सूचना पाउने र पत्रकारको पेसागत क्षमतासमेत अभिवृद्धि हुने भन्दै सुझाव समेत दिए।
उनले भने, “परिवर्तनको लाभ मेरो जीवन फेर्नलाई नै भयो भन्ने कुरा आमनागरिकलाई महसुस गराउने गरी विकास गर्नुछ । त्यसको निम्ति अब विकासको प्रक्रियालाई तीव्रता दिनुपर्छ र फड्को मार्ने ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने सरकारको नीति हो ।”