काठमाडौं। चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल सञ्चालनमा आउने भएको छ। सम्पूर्ण तयारी पूरा गरी केही दिनमा नै सरोकारवाला निकायमा पत्राचार टर्मिनल सञ्चालन गरिने भएको हो।
व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ।
टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङरअनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिले जनाएको छ।
वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको बताइएको छ।
आयातकर्ता र निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध गरेको छ।